साहसी संगीता: अपाङ्गताले जागिर गयो, अहिले सयौंलाई रोजगार बनाइन्
5.8KSHARES
Shareon facebookShareon twitter
फाल्गुन ७, २०७२- शिक्षिका भएको १९ औं दिन थियो । त्यसअघिका १८ दिनजस्तै उनी विद्यालय पुगिन् । चक डस्टर बोकेर कोठाकोठा पुग्दै पढाइन् । बल्लबल्ल ‘मास्टरी’ जागिर पाएकी संगीता पन्तको अध्यापनमा पनि बेग्लै जोश थियो । समयमै स्कुल पुग्ने, कक्षा लिने र फर्केपछि पनि भोलिपल्टका तयारी राम्रो तयारी गर्थिन् ।
बसुन्धरामा रहेको बोर्डिङ स्कुलबाट बाहिरिनै लाग्दा महिला प्रिन्सिपलले बोलाइन् । ‘बहिनी तपाईं स्मार्ट हुनुहुन्छ, राम्रो पढाउनुहुन्छ, सबै ठीक छ,’ नम्र भएर प्रिन्सिपलले फुक्र्याउँदै भनिन्, ‘तर हामीले तपाईंलाई निरन्तरता दिन सकेनौं, सरी !’
प्रिन्सिपलले किन यति भूमिका बाँध्दैछिन् पत्तो पाउन कठीन भयो ।
‘किन र मिस ?,’ संगीताले सोधिन् ।
‘मैले भनें नि तपाईंको सबै ठीक छ, तर तपाईं अपाङ्गता हुनुहुँदो रहेछ,’ प्रिन्सिपलले यतिमात्र भन्न पाइन्, ‘यो कुरा अभिभावकले थाहा पाए बच्चाहरु निकालिदिन्छन् ।’
प्रिन्सिपलका अरु कुरा सुन्न सकिनन् ।
केही थाहा नपाउने बायाँ हात छामिन् । जीवनमा यही कारणले धेरै कुरा सुन्नुपरेको थियो । अबगाल खेप्नुपरेको थियो । ‘त्यो दिन साँच्चै चित्त दुख्यो,’ गोंगबु मित्रनगरमा ५० औं प्रशिक्षार्थी र कामदारबीच संगीताले अडिंदै भनिन्, ‘अरुदिनभन्दा धेरै ठूलो चोट पर्यो ।’
पढाउने काम त दिमागी थियो । ‘एउटा हात न नचल्ने हो, अरु त ठीकै छ भनेर भन्न जरुरी ठानिन,’ एक दशकपछि त्यो दिन सम्झिन्, ‘त्यसले चोट दियो ।’
शिक्षिकाबाट सफल उद्यमीको परिचय बदलेकी संगीताले आत्मबल देखाउँदै मुस्कुराउन खोजिन् । तर, नजिकै रहेकी उनीजस्तै कर्मचारीले बर्रर्र आँसु झारिन् र अलि टाढा गइन् ।
…
जीवनभर बिझाइरहने उनको एक दिन त्यही थियो, जुन दिन खेल्दाखेल्दै लडिन् । सात वर्षकी छँदा खेल्दाखेल्दै लडेकी संगीताको बायाँ हात नराम्ररी दुख्यो ।
कुहिना फुटेको आशंकामा गोरखाको मिसन अस्पतालमा हात प्लास्टर त भयो । तर, कुठाउँमा परेछ । जोर्नी खुस्किएको हातको प्लास्टर कुहिनामा गरियो । त्यतिबेला गाउँको स्वास्थ्यचौकीमा एक्सरे मेसिन पनि थिएन ।
‘कुहिनोको प्लास्टरले हात झन् लाछियो, डिसलोकेटेड भएछ,’ वर्षौंअघिको घटना सम्झँदै संगीताले भनिन्, ‘हात चल्नै छाड्यो ।’
औषधिले काम गरेन भनेर झारफुक गरियो । ठीक भएन । घरेलु औषधिमुलोले पनि छोएन ।
तीन महिनापछि वीर अस्पताल आएपछिमात्रै थाहा भयो । हातको त जोर्नी नै खुस्किएको रहेछ । उपचार त भयो तर निको भएन ।
‘त्यसपछि दाइले दिल्ली, पटना पुर्याउनुभयो,’ संगीताले भनिन्, ‘अहँ ठीक भएन ।’
बायाँ हात झन् झन् सुक्न थाल्यो । अहिले अर्को हातको सहाराले मात्रै उचालिन्छ । ‘ब्लड सर्कुलेसन चाँही भइरहेको छ,’ उनले दायाँले चिमोट्दै देखाइन् ।
‘विचरीलाई त श्राप लागेको हो नि π,’ मुटू चिमोट्ने शब्द उनले धेरैपटक सुनिन् ।
विस्तारै हातको चाल रोकियो तर पढाइ रोकिएन । गाउँबाटै एसएलसी पास गरिन् ।
…
काठमाडौंमा आएपछि संगीताको बसाइ दाजुभाउजूसँगै थियो । सरस्वतीबाट आईकम र त्रिचन्द्रबाट समाजशास्त्रमा बीए, एमए सकिन् ।
पढाइसँगै जागिर खोज्न धेरैतिर धाइन् । कतै पाइएन । बल्लबल्ल पाएको बोर्डिङ स्कुलको मास्टरी पनि खुस्कियो । ‘त्यो दिन म ब्युझिएँ,’ जागिर चक्करका दु:ख सम्झिँदै संगीताले भनिन्, ‘किन जागिर खाने, जागिर त मेरो लागिमात्रै हुन्छ, मेरो जीवन चल्छ, अब मैले मेरो लागि होइन अरुको लागि पनि जिउनुपर्छ भन्ने लाग्यो ।’
संगीतालाई लाग्यो फेरि जागिर खान जाऊँ अपांगतालाई लक्षित गरेर गहिरो सहानुभुतिका शब्दहरु आउलान् या अपाङ्गतालाई खोट लगाएर रोक्लान् । ‘म डराउथे, भाग्थे र क्षण क्षणमा तर्सन्थे,’ उनको आँखामा ती दिन नाच्दैथे, ‘तर पनि अन्तरात्माको चाहना र इच्छा यहि थियो, जुन अहिले गर्न पाइरहेको छु, ।’
संगीताले महसुस गरेकी छन्, ज्यूनुको अर्थ यो रहेछ । जब जीवन अरुको लागि खर्चिन पाइन्छ, त्यसमा पनि अझ बढी दु:ख बाँडेर ।
घरेलु तथा साना उद्योग र विभिन्न गैरसरकारी संस्थाले दिएका तालिमका प्रमाणपत्र निकालिन् । तालिमका सिप सम्झिन थालिन् । पेन्टिङ, वस्तु डिजाइन, सिलाई कटाई, मैनबत्ती, कम्प्युटर, साबुन–फिनेल बनाउने सिप थिए ।
सन् २००५ सालमा ‘अपाङ्ग केन्द्र नेपाल’मा आबद्ध भएर उद्यमका काम सुरु गरिन् । त्यसको ४ वर्षपछि जापान जाने मौका मिल्यो ।
मास्टरी छाडेर आफैं उद्यमी बन्ने संगीताको आत्मविश्वासमा जापानको सिकाइले बल पुर्यायो । ‘उहाँहरुले गरेका प्रगति देख्दा म पनि कहिले नेपाल पुगेर उद्यम सुरु गरौं भन्ने भएको थियो,’ हस्तकलाका सामाग्रीले घेरिएको अफिसमा संगीता भन्दै थिइन्, ‘तालिम/सिकाई पूरा गरेलगत्तै फर्केर आएँ ।’
संगीतालाई जापानमै बस्न पनि अफर आयो । जापानमै भएको आफ्नै भाइ र चिनेजानेका साथीहरुले पटक पटक भनेका थिए– हामी १२ लाख खर्चेर आयौं । कमाइ पनि ठीकै छ । तपाईं सित्तैमा आउन पाउनुभएको छ । यहाँ अपाङ्गता भएकालाई राम्रो अवसर छ । तपाईं यतै बस्नुस् ।
‘मैले मानिनँ,’ उनी भन्दैथिइन् ।
बरु तालिमका बेला दिएको १ लाख रुपैयाँ कुनै खर्च गरिनन् । सिधै नेपाल फर्किन् ।
…
काठमाडौं उत्रेपछि संगीताका संघर्ष सुरु भए । २००५ मै कवाडी संकलन गरेर सुरु भएको काम रोकिएको थियो । जापानबाट ल्याएको एक लाख त चोखै थियो ।
अपाङ्गता भएकालाई तालिम दिने र हस्तकलाका सामान उत्पादन गर्ने सोच बुनिन् ।
अफिस खोजिन् । अफिस खोज्दा खोज्दै महिनौं बिते । पटक्कै पाइएन ।
सुरुमा कोठा दिन खोज्नेहरु अपाङ्ता भएका व्यक्ति भनेपछि एकाएक तर्कन्थे । अनेक बहाना खोजेर दिंदैनथे । ‘एक ठाउँमा अफिसका लागि ५ हजार एडभान्स दिएँ,’ उनको सम्झनामा छ, ‘घरबेटीले अपाङ्गहरु लड्लान्, मर्लान् भन्दै त्यो पनि फिर्ता गरे ।’
घर भाडामा पाउन नसकिने रहेछ भन्ने लागेपछि मित्रनगरको एउटा खाली जग्गा मागिन् । यूकेमा बस्दै आएका जग्गाधनीले साहस थप्दै भने, ‘बहिनी यति राम्रो पवित्र काम गर्न लाग्नुभएको रहेछ लिनुस् न त ।’
मित्रनगरमै टिनका पाता जोडेर टहरो बन्यो । सुरुमै १२ जना अपाङ्ता भएका दिदी बहिनीलाई हस्तकलाको तालिम दिइन् । उनीहरुलाई त्यहिं सेल्टरको व्यवस्था मिलाइन् ।
सिलाई बुनाईको तालिम र उत्पादन कार्य सुरु भयो । फिनेल–साबुन बन्न थाल्यो । हस्तकला, फेल्टजन्य वस्तुले तालिम केन्द्र भरिन थाले । घरभित्रै कुँजिएका अपाङ्गता भएका महिलाहरु एकपछि अर्को सम्पर्कमा आउन थाले ।
सामान उत्पादन र बिक्री आफैं सुरु भयो । यही टहराबाट उत्पादन भएका सामान ठमेलका चोक चोक लगेर बेच्न थालिन् । ‘सामान बिक्रीबाट आएको पैसाले सेल्टर चल्न थाल्यो,’ सुरुवाती दिन सम्झँदै संगीताले भनिन्, ‘आत्मनिर्भर बन्ने आशा जाग्यो ।’
संगीताले आफूजस्तै अपाङ्गता भएकाहरुलाई लिएर सामाजिक कार्यका लागि शक्ति (इप्सा) नामक संस्था स्थापना गरिन् ।
संस्थागतरुपमै काम सुरु भएपछि सामानको अर्डर भ्याई नभ्याई भयो । हस्तकलाका सामान विस्तारै विदेशसम्म निर्यात हुन थाले । फिनेल–साबुनको माग काठमाडौंमै बढ्यो ।
संगीताले अपाङ्गता भएका दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्थिन् । तालिम सिकाउँथिन् । निपुण भएपछि बाहिर रोजगार खोजिदिन थालिन् । तालिम लिन आएका कतिपयलाई त जागिरको अफर नै आउन थाल्यो । क्षमता विकास नभएससम्म यहीं सिक्थे, खाने बस्ने छँदै थियो । गोजी खर्च पनि थमाइदिन्थिन् ।
‘अहिलेसम्म ४ सयभन्दा बढी अपाङ्ता भएका महिला दिदीबहिनीहरुले तालिम लिनुभयो,’ संगीताले तथ्यांक देखाइन्, ‘सबैले रोजगार पाउनुभएको छ । सन्तोष लागेको छ ।’ ती मध्ये ३ सयभन्दा बढी आत्मनिर्भर भइसकेका छन् ।
…
भाडामा बस्न सक्षम हुने र परिवार भएकाहरु दिउँसो आउँछन्, साँझ फर्कछन् । टाढाबाट आएका अपाङ्गता भएका ३० जना दिदीबहिनीहरुलाई पुग्ने सेल्टर छ । उनीहरु तालिम लिन्छन् । त्यहीं खान्छन्, बस्छन् ।
इप्सामा अपाङ्गता भएकै कारण परिवार र समाजबाट हेपिएका, सामाजिक विभेदको शिकार भएका महिलाहरु छन् । यहाँ आएपछि उनीरुले आत्मसम्मान पाएका छन् । आफैं जिउने कला सिक्न पाएका छन् ।
तालिम केन्द्रमा एकसुरुले फेल्टिङ तयारी गर्दै गरेकी युवतीलाई देखाउँदै संगीताले कथा सुरु गरिन् । ‘ती बहिनी मानसिक रोगी हुन्, जीवनभर परिवारले थुनेर राखे, उनी झन् भन्दा झन् कमजोर भएकी रहिछिन्,’ ती युवतीबारे संगीताले थपिन्, ‘कसैले इप्साबारे भनिदिएछ, यहाँ ल्याएर बुवाआमाले छाडिदिनुभयो । तालिम लिन सुरु गरे २५ सय रुपैयाँ कमाइन् ।’
यहाँ तालिम लिने अपाङ्गता भएका महिलाहरुको अलग अलग कथा–व्यथा छ ।
परिवारको बोझ भएको भन्दै निकालिएका र यातना खेपेकाहरुले तालिमपछि पैसा कमाउन थालेपछि पुर्नस्थापित भएका छन् ।
एक अधवैंशे महिला दुर्घटनामा परिन् । खुट्टा काट्नुपर्यो । अपाङ्ता भएपछि श्रीमान् र सासुससुराबाट यातना पाइन् । खप्न नसकेर इप्सा आइन् । तालिम लिएर पैसा कमाउन थालिन् । ‘पैसा कमाउन थालेपछि फेरि परिवारले लिएर गयो, घरमा पुनस्र्थापित भइन्,’ खुसीले मुस्कुराउँदै भनिन्, ‘यस्ता सफलता सुन्दा बडो आनन्द आउँछ ।’
अपाङ्गता भएकैले दाजुभाइबाटै बलात्कृत भएर मानसिक समस्या भोगेकाहरुले यहाँ संरक्षण पाएका छन् । तालिम सिकेर आत्मनिर्भर भएका छन् ।
केही सिप नभएर सडकमा माग्न बसेकाहरु जागिरे भएका छन् ।
…
भूकम्पपछि ७ वर्षअघि बनाएको टहरो धरापमा छ । ब्लकहरु चिरिए । लिजमा लिएको जग्गाको म्याद पनि सकिन लागेको छ ।
संगीतालाई अर्को चिन्ता छ, अशक्त दिदीबहिनीलाई कहाँ राख्ने ? कसरी दीगो बनाउने भन्ने चिन्ता छ ।
यही बेला बाइपासमा जग्गा पाइन् । ८ वर्षमा एक एक पैसा जोडेको रकम थपेर ३४ लाखमा १८ आना जग्गा लिएकी छन् । त्यसमा केही ऋण छ । ‘मेरो ड्रिम प्रोजेक्ट भनेको अपाङ्ता भएकालाई सुविधासम्पन्न सेल्टर बनाउने हो,’ संगीताले योजना सुनाइन्, ‘जग्गा किन्दा लिएको ऋण तिरेपछि घर बनाउने अभियान थाल्छु ।’
करिब २ घण्टाको भलाकुसारी पछिको ‘चिया’गफमा उनले सम्झिइन् जनै पूर्णिमा(रक्षा बन्धन)को दिन। त्यो दिन उनी पशुपति गएकी थिइन्। एकजना ‘पण्डित’ले हातमा धागो बाँधिदिए।
‘खै अर्काे हात देऊ त?’ उनले बाँया हात दिइन्। पण्डितले त्यो हात झट्कारिदिए। अनि भने ‘कठै नानी पहिलो जुनीमा पाप गरेकी रै’छ्यौ अब वर्वाद हुने भो।’
उनले त्यो धागो छिनाएर फालिदिइन्।’यस्तै सोँच बदल्नका लागि पनि केही गर्नुछ, अझैँ धेरै गर्नुछ’ विदा भएर निस्किदैँ गर्दा, उनी त्यो आधा टिनको ढोका भएको ‘गेट’सम्मै आइपुगेकी थिइन्।
तस्विरहरूः प्रकाश लामा/सेतोपाटी
प्रकाशित मिति: बिहीबार, प्रकाशित: फाल्गुन ७, २०७२ १०:०३:०९
‘म समाजलाई बुझाउन चाहन्छु, अपाङ्गता कमजोरी होइन । अपांगता भनेको छेकबार होइन,’ उनले कुरा टुंग्याइन्, ‘दृष्टिकोणमा, बुझाइ र सोचाइमा परिवर्तन जरुरी छ ।’